दफा ६६
अदालतमा नै म्याद तामेल गर्न सकिने
(१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै अदालतबाट देहायका ब्यक्तिका नाममा जारी भएको म्याद वा सूचना त्यस्तो ब्यक्तिलाई देहायको अवस्थामा अदालतमा नै बुझाई तामेल गर्न सकिनेछः–
(क) सम्बन्धित अदालतका कर्मचारी वा पदाधिकारी भए निज अदालतमा हाजिर हुँदा,
(ख) सम्बन्धित अदालतमा अर्को कुनै मुद्दामा तारिखमा रहेको पक्ष भए त्यस्तो तारिखमा उपस्थित हुँदा,
(ग) सम्बन्धित अदालतमा रहेको कुनै मुद्दामा कुनै पक्षलाई प्रतिनिधित्व गर्ने वारिस भए त्यसरी प्रतिनिधित्व गरी उपस्थित हुँदा,
(घ) सम्बन्धित अदालतमा कानून व्यवसायको सिलसिलामा उपस्थित हुने कानून व्यवसायी भए त्यस्तो व्यवसायको सिलसिलामा उपस्थित हुँदा, वा
(ङ) सम्बन्धित अदालतमा साक्षीको रुपमा उपस्थित भएको ब्यक्ति भए सो हैसियतमा उपस्थित हुँदा ।
(२) उपदफा (१) बमोजिमका ब्यक्तिका नाममा अदालतबाट जारी भएको म्याद, पक्राउ पूर्जी, समाह्वान वा सूचना निज सम्बन्धित अदालतमा उपस्थित हुँदाका बखत बुझाउन ल्याएमा निजले बुझिलिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम बुझाउन ल्याउँदा त्यस्तो म्याद, पक्राउ पूर्जी, समाह्वान वा सूचना निजले बुझिलिन इन्कार गरेमा तामेलदारले त्यस्तो कुराको प्रतिवेदन सम्बन्धित अदालतमा तुरुन्त गर्नु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम परेको प्रतिवेदनको व्यहोरा मनासिब देखिएमा त्यस्ता ब्यक्तिले निजको नाममा जारी भएको त्यस्तो म्याद, पक्राउ पूर्जी, समाह्वान वा सूचना नबुझेसम्म सम्बन्धित अदालतले निजलाई वारिसको हैसियतमा प्रतिनिधित्व गर्न, तारिख लिन, कानून व्यवसाय गर्न वा साक्षीको हैसियतमा बकपत्र गर्न रोक लगाउने आदेश गर्नेछ ।